घुमफिरका सौखिनहरुका लागी प्राकृतिक र सांस्कृतिक सुन्दरताको उत्कृष्ट नमुना सुरम्य बारेकोट

 प्राकृतिक र पौराणिक मौलिक साँस्कृति मन पराउनेहरुका लागि बारेकोट एउटा उपयुक्त गन्तब्य हो । घुमफिरका सौखिनहरु लाइ बारेकोटले सधै आमन्त्रन गरिरहेको छ । 

 बारेकोट पु सदरमुकाम देखि तिन घण्टाको गाडिको यात्रा पछि कच्चि नागवेली सडकसंगै नलगाड नदिको सांगितिक सुसाहट,दोबाटोभरी भारि बोकिरहेका घोडा,खच्चडका लस्कर,नलसिंङ गाडको चिसो सिरेटो,क्षणक्षणमा बहकिने कुहिरो,जिस्काइ रहने झरणा,आगन्तुक संग लुकामारी खेलेझै लाग्ने मौसम,अनि बाटोमा देखिने हरेक सम्पदाले मनलाइ चङ्गा बनाउदै एक दिनको पैदल यात्रा पछि बारेकोटको प्रसासनिक केन्द्र लिम्सा पुकिन्छ ।

यदि कसैलाइ हिमश्रृङ्खला संगै सुर्योदय,हरियालि जंगल,पाखा पखेरा नलगाड र कुशेका मनोरम दृश्य ताजा हावा लिदै यात्रामा रमाउने चाहाना हुन्छ भने सदरमुकाम देखि दुइ घण्टाको गाडिको यात्रा पछि पाँचकाटिया,फुलचाउलि हुदै बारेकोटको प्रवेसद्धार कैलासी लाग्न पुकिन्छ । बाटोभरी झुलिरहेका बनस्पतिका दृश्य,चराचुरुङ्गीका साङ्गीतिक धुनले यात्राको थकानलाइ अगाडि बढ्न पे्ररित गर्ने छ ।

बारेकोटको अग्लो स्थानमा रहेको कैलासीलाँग्न बारेकोट नियाल्ने भ्युटावर नै हो । त्यहाँ बाट बारेकोटका निकै मनमोहक अग्ला हिमश्रृङ्खला  रमणिय वस्तिहरु नियाल्दै बारेकोटको प्रसासनिक केन्द्र लिम्सा पुगिन्छ । बारेकोटको फन्को मार्ने हो भने बारेकोट यस्तो क्यानभास हो जहाँ पौरखि हातहरुले उत्पादल गरेका कृषि उपजहरु बारेकोटी गाबा,रातो चामलको भात,सिस्नु,ढिडो, मकैका रोटी जस्ता परिकार खुवाएर आगन्तुकलाइ स्वागत सत्कार गरिन्छ ।

घरघरमा कलाकार र कलाकारिता छ । समाज आधुनिकता तिर दौडिरहेको भएपनि पौरानिक मौलिक साँस्कृति र पहिरन बारेकोटमा जिवित देख्न सकिन्छ । पौराणीक नाचहरु सारंगे,खाँडो,पैसेरु,ख्यालि,सिंगारु,देउडा,धामिनाच अझ सबै भन्दा लोप भएको रत्यौलिको रतिरागले आगन्तुकको धित मर्दैन । मौलिक पहिरन दौरा,सुरुवाल,कोट,ढाँका टोपी,गुन्यु,चोली,पटुकी,नाकमा फुलि,बुलाकिले यहाँको मौलिक पहिरन झल्किरहेको देख्न सकिन्छ ।

बारेकोटको फन्को लगाए पछि आगन्तुकको यात्रा बारेकोटको सुन्दरताको उत्कृष्ट  नमुना धार्मिक पर्यटकिय गन्तब्य साइक्वारी तिर गाडि बढ्छ । घाट बजार,दहहुदै सवै भन्दा कठिन लाग्ने चौथाराको उकालो काटेपछी कार्पेट बिछ्याए झै थुम्का थुम्कामा बिजौरी फुलले भरिएको उपत्यका जस्तै ढोटाचौर,लस्करै वरिपरी सल्लाका रुखहरु, बारेकोट भन्दा वितिकै सबैको स्मृतिमा यस्तै दृश्य सल्वलाउन थाल्छ । त्यहाँ वसेर फुलहरुको सुगन्ध लिदै पञ्चासेको चिसोपानी खाएपछी चिसो अनुभुती हुन्छ । साइक्वारी घुम्नजाँदा न्यानो लुगाको जोहो चाहीँ गर्नै पर्छ ।

ढोटाचौरवाट आधा घण्टा जंगलको वाटो छिचोले पछि बारेकोटको बास्तविक प्राकृतिक शौन्दर्य अवलोकन गर्ने प्राकृतिक   झ्याल लाग्न पुकिन्छ । यहाँ बास बस्नकोलागि होटल र लज पनि भेटिन्छ । यहाँवाट नजिकैको कराइचुली हिमाल,राँगाबाँचिलाको उद्गम स्थल मानिने राँगा चौर,चौथारी,गाइगुवा,तम्तु,रोल्पा,खम्वु,खेताली,कोटे,कालिमुरी,चाखुरे पाटनका रमणिय दृश्य कम्तिको मनमोहक देखिदैनन ।

लाँग्नबाट सुरुभएको यात्रा नौलाखर्क,देउराली हुदै साइक्वारी पाटन छेउमा पुगेपछी जताततै छरपरस्ट जतामनलाग्यो त्यतै वहिरहेका  हिमनदि र हिमतालका छहरा,बुकिका फाँटमा निस्फीक्रि कुनै भयविना चरिरहेका झारल लगाएतका मृगहरुका बथान,आ–आफ्नै तालमा नाँचिरहेका डाँफे,मुनाल,चिरकालिज लगाएतका चराचुरुङ्गी,रेडपाण्डा,लौठसल्ला,भोजपत्र,ढकमक्क विभिन्न रंगका लालिगुराँस,गोब्रेसल्ला जस्ता सयौ प्रकारका बनस्पति,बारेकोटको समृद्धिको आधारका रुपमा मानिएका पाँचऔँले,कटुकी,पदमचाल्नु,सेतकचिनी,जस्ता सयौँ प्रकारका बहुमुल्य जडिबुटीले आगन्तुकलाइ नजिकैबाट स्वागत गर्छन् ।

 त्यहाँ बाट अगाडी बढेपछी सत्ययुगमा भगवान शिबजिले सत्यदेवीको देह बोकेर संसार घुमाउने क्रममा उनको एउटा अंग पतन भइ शिवजि थाकेपछि थकाइ मार्न बास बसेको स्थान ठाकुरजिको गाथ जहाँ पुगेर तिर्थालु हरुले नुहाय  पुण्य प्राप्तहुने बिश्वास गरिएको साइकुवारी ताल लगाएत संङ्ख दह,कुकुर दह, सुंगुर दह जस्ता आसपासका बिभिन्न तालहरु अबलोकन गरिसकेपछि गन्तब्य पुरा हुन्छ ।बारेकोट बाट फर्किदा चाहि पौरखिहातले बुनेका राडिपाखि,निगालोले बनाइएका सामाग्रि र बारेकोटी गाबा कोसेली बोक्न भुल्नु हुदैन ।

 

प्रतिकृया दिनुहोस्