एसइई परीक्षा जेठ अन्तिममा गर्न राष्ट्रिय परीक्षा बोर्डको सिफारिस

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ अन्तिम साता गर्न सिफारिस गरेको छ । बोर्ड अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले २५ वैशाखपछि लकडाउनको मोडल फरक भए जेठ अन्तिम साताबाट एसइई परीक्षा सञ्चालन गर्न सिफारिस गरेको हो ।

कार्यदलले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई प्रतिवेदन बुझाउँदै परीक्षा असार १५ सम्म सक्ने गरी गर्न सिफारिस गरेको हो । यसैगरी कार्यदलले एसईई र कक्षा १२ को परीक्षा एउटै समय (दुई सिफ्ट)मा गर्न पनि सिफारिस गरेको छ ।

एसईई परीक्षामा कूल चार लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी हुनेछन् । चैत ६ मा परीक्षा लिने गरी १ हजार ९९५ परीक्षा केन्द्र तोकिएको थियो । तर कोरोना भाइरस (कोभिड–१९) का कारण चैत ५ गते बेलुकी मात्र एसईई परीक्षा स्थगित गर्ने निर्णय गरिएको थियो । साथै परीक्षाको नतिजा ४५ दिनभित्र प्रकाशित गर्न सकिने कार्यदलको निश्कर्ष निकालेको छ ।

यस्तै सरकारले असंगठित क्षेत्रमा काम गर्ने मजदुरहरुलाई न्यूनतम रोजगारीको व्यवस्था गर्ने भएको छ । असंगठित क्षेत्रमा दैनिक ज्यालादारी गर्दै आएका श्रमिक मजदुरको सम्बन्धमा कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको कामबाट रोजगारी गुमाउने र कामबिहिन भएकाहरुलाई स्थानीय तह वा प्रदेश तहमा हुने सार्वजनिक निर्माण कार्यमा लगाउने निर्णय बैशाख १४ गते बसेको मन्त्रिरिषद्को बैठकले गरेको हो ।

बिहीबार मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्दै अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले दैनिक ज्याला नगद वा खाद्यान्न उपलब्ध गराउने गरी काममा लगाउने व्यवस्था गर्ने निर्णय भएको बताए । दैनिक ज्यालादरी राहत मापदण्डको सीमाभित्र रहेर स्थानीय तहले निर्धारण गर्न सक्ने छ ।

काम गर्न नचाहने व्यक्तिहरुको हकमा राहत माग्न आएमा काम गर्ने व्यक्तिले पाउने ज्यालाको २५ प्रतिशत हुने बराबरको खाद्यान्न मात्र उपलब्ध गराउने र यसको कार्यान्वयन संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले गर्ने छ । यस्तै राहत लिनको लागि आफ्नो परिवारमा कुनैपनि व्यक्ति स्वरोजगार नभएको, औपचारिक रोजगारीमा नभएको वा अन्य कुनै आम्दानीको स्रोत नभएको स्व–घोषणा गर्नुपर्ने छ ।

प्रतिकृया दिनुहोस्