कोरोना फैलिन नदिन कर्णाली प्रदेश एक हप्‍ता पूर्ण रुपमा सिल गर्ने निर्णय

छिमेकी प्रदेशमा कोरोना संक्रमण देखिएपछि  प्रदेशमा सो संक्रमण फैलिन नदिन कर्णाली प्रदेश सरकारले सात दिनका लागि प्रदेश नै पूर्णरुपमा सिल गर्ने निर्णय गरेको छ।

प्रदेश नम्बर ५ र सुदूरपश्चिममा कोरोना संक्रमण देखिएपछि कर्णालीका सबै नाका सिल गरिएका हुन्। हालसम्म कोरोना संक्रमण नदेखिएको कर्णालीलाई सुरक्षित राख्न प्रदेश सरकारले प्रदेश भित्रिने सबै नाकाहरु पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो।

कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्को सोमवार सम्पन्न बैठकले एक साताका लागि प्रदेशका सबै नाकाहरु पूर्णरुपमा सिल गर्ने निर्णय गरेको हो। यो निर्णयसँगै कर्णाली भित्रिने सबै नाकाहरु बन्द भएका हुन्। नाका बन्द भएसँगै अब कर्णालीमा कोही पनि भित्रिन पाउन छैनन्। यस्तै निर्माण सामग्री र खाद्यान्न आयातमा पनि रोक लगाइएको छ। बिरामी बोकेका एम्बुलेन्सको हकमा भने नाकामा प्रवेश दिइने छ। मुख्य नाकाहरु बन्द गर्ने निर्णय भए पनि जिल्ला र पालिका तहमा भने केही खुकुलो बनाउने विषयमा पनि बैठकमा छलफल भएको थियो।

यस्तै बैठकले कर्णालीका विभिन्न २७ स्थानमा चिकित्सकसहितको टोली परिचालन गर्ने निर्णय गरेको छ। प्रदेशका रणनीतिक स्थान, बजार क्षेत्र र नजिकका गाउँपालिकाहरुलाई केन्द्र पर्नेगरी विभिन्न स्थान छनौट गरिएका छन्। ति स्थानमा प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत चिकित्सकको टोली खटाइने छ। उक्त टोलीले नमूना संकलन, द्रुत परीक्षण र उपचारको काम गर्नेछन्।

यस्तै प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले आन्तरिक विकासका कामलाई सुचारु राख्न लकडाउनको अवधिमा पनि प्रदेशमा रहेका मेसिन प्रयोग हुने आयोजनाको तथा ठूला विकास आयोजना संचालन गर्ने निर्णय गरेको छ।

पछिल्लो समय उद्दारको नाममा कर्णालीमा मानिसहरु ओसार्नेक्रम बढेको थियो। स्थानीय तह र प्रदेश सरकारले नै बाहिरबाट नागरिकहरु उद्दार गर्दै आएका थिए। नाकाहरु बन्द भएसँगै अब मानिसहरु ओसार्ने काम बन्द हुनेछ।

यसअघि छिमेकी सुदूरपश्चिममा पनि संक्रमण देखिएको छ। यस्तै पछिल्लो समय प्रदेश ५ को नेपालगंजमा पनि संक्रमण देखिएपछि कर्णालीमा त्रास छाएको छ।

प्रतिकृया दिनुहोस्