कोभिड १९ को संक्रमणबाट जोगिदै शिक्षालयहरू कसरी सञ्चालन गर्ने ?

पुस्कर कडेल|

कोभिड १९ का कारणले शिक्षालयहरू अपवाद छोडेर १५५ दिनदेखि सबै बन्द छन् । विद्यार्थीहरू घरमै बसेर शैक्षिक क्रियाकलाप गरिरहेका छैनन् । अभिभावकहरू पनि जति चिन्तित हुनुपर्ने हो त्यति चिन्तित देखिएका छैनन् । शिक्षा मन्त्रालयले पनि कुनै त्यस्तो वैकल्पिक उपायहरू सुझाउन नसक्दा शिक्षालयहरू सञ्चालन हुने सुनिश्चितता देखिएन । शिक्षाविद्हरूले पनि परिस्थितिको चुनौतीलाई बुझेर नयाँ ढङ्गले शिक्षालयहरू सञ्चालन गर्ने रणनीतिक उपायहरू सरकारलाई दिन सकेनन् । जसले गर्दा यो वर्षको महत्त्वपूर्ण धेरै दिनहरू खेर गइसकेका छन्। जबकी यो समयलाई हामीले शिक्षा व्यवस्थाका समस्याहरू बुझ्न, त्यसमा परिमार्जन र सुधार गर्नमात्र होइन आमूल परिवर्तनको आधार तयार गर्न प्रयोग गर्न सकिन्थ्यो। तर दुर्भाग्य अभिभावक, शिक्षक, शिक्षाविददेखि लिएर शिक्षा मन्त्रालयसम्मले नयाँ ढङ्गले सोच्ने र व्यवहार गर्ने प्रयास नै गरेनन् ।

गएको चारपाँच महिनामा हामीले शैक्षिक क्षेत्रको अवस्थामा सुधार ल्याउन धेरै काम गर्न सक्थ्यौं तर गरेनौं किनभने हामी देशको भविष्यप्रति चिन्तित भएनौं । जो होगा देखा जायगा भन्ने पारामा विन्दास भएर समय बितायौं। सार्वजनिक शिक्षालयका शिक्षकहरू काम नगरेतापनि तलब आईहाल्छभन्ने मान्यताबाट निर्देशित भएभने संस्थागत शिक्षालयका शिक्षकहरू कतै भोकै त परिदैनभन्ने त्रासमा सक्रिय हुन सकेनन् । परिणामस्वरूप विद्यार्थीहरूको पढ्न पाउने मानव अधिकार मात्र हनन भएन देशले भोलिका कर्णधारलाई प्रशिक्षीत गर्न नसकेर ठूलो नोक्सानी व्यहोर्दैछ। केहि मान्छेहरू भने आफ्नो शैक्षिक व्यापार नियमित गर्न ‘नो अब्जेक्सन लेटर’ दिन शिक्षा मन्त्रालयमाथि दबाव बढाउन व्यस्त छन् । राज्य पनि देशको भविष्यप्रति चिन्तित भएर क्रियाशील हुन सकेन।

समय जति खेर जानु गइसक्यो । अब त्यसमै विवाद गरेर बस्ने बेला छैन्। आजको यो अवस्थामा शैक्षिक क्रियाकलाप सुरक्षित तरिकाले सुचारू गर्ने उपाय मै केन्द्रीत हुनुपर्ने भएकोछ। कोरोना माहामारी सकिएला र शिक्षालयहरू समान्य रूपमा चलाउँला भनेर बस्ने समय छैन्। प्रश्नहरू उठ्न सक्छन्, कोभिड १९ को संक्रमणबाट जोगिदै शिक्षालयहरू कसरी सञ्चालन गर्ने ? सरोकारवालाहरूको भूमिका के के हुन सक्छन्? शैक्षिक सत्रको बाँकी अवधिभित्र पाठ्यक्रमले तोकेको निश्चित पाठ्यभार नघट्ने गरी पठ्नपाठन कसरी सञ्चालन गर्ने ? अन्य उपाय तथा सम्भावनाहरू के के हुन सक्छन् ? यी प्रश्नहरूमा केन्द्रीत हुन सबै विद्यालयका लागि त्यति सहज छैन, तर असम्भव पनि छैन्।

कोभिड १९ को संक्रमणबाट जोगिदै शिक्षालयहरू कसरी सञ्चालन गर्ने ?

कोभिड १९ को संक्रमणबाट विद्यार्थी तथा शिक्षकहरूलाई जोगाउँदै पठनपाठन सुरू गर्न;

१. सिट प्लानिङ नयाँ बनाउने।

२. तीन सिफ्ट गरेर विद्यालय सञ्चालन गर्ने।

३. कक्षाको समयावधि घटाउने।

४. कक्षा कोठाहरूको सरसफाई र निर्मलीकरणमा विशेष ध्यान दिने।

५. शिक्षक तथा विद्यार्थीहरूले विद्यालय वा कक्षा कोठामा प्रवेस गर्नुभन्दा अघि हात धुने।

६. कक्षामा गर्नुपर्ने समुहगत क्रियाकलाप संक्रमणको जोखिम भइञ्जेल नगर्ने।

७. कक्षागत अर्थात उमेर समुहअनुसार विद्यार्थीहरूको समय तालिका मिलाउने।

८. विद्यालय बस प्रयोग नगर्ने।

९. शिक्षक तथा कर्मचारीहरूका लागि कम्तिमा बिहानको खाजा र खाना व्यवस्था गर्ने।

१०. प्रत्येक अभिभावकहरूलाई सुरक्षा उपायका बारेमा बुझाउन र सचेत गराउने।

११. टाढा-टाढाबाट विद्यार्थी आउनुपर्ने स्थितिको अन्त्य गरी घरपायकका विद्यालयमा पढाउने।

१२. मूल्याङ्कन प्रणालीमा परिमार्जन गर्ने।

सरोकारवालाहरूको भूमिका के के हुन सक्छन् ?

क. विद्यालय प्रशासन र व्यवस्थापना समितिको भूमिका

१. श्रोतहरूको उचित व्यवस्थापन गर्दै स्थानीय सरकार र शिक्षकहरूसँग समन्वय गर्ने।

२. कक्षा सञ्चालनका लागि आवश्यक भौतिक सुविधा उपलब्ध गराउने।

३. सबै विद्यार्थी तथा शिक्षकहरूको स्वास्थ्य अवस्था जाँच्न स्वास्थ्यकर्मी व्यवस्था गर्ने।

४. कक्षा कोठानुसार प्रत्येक विद्यार्थीहरूलाई खानेपानीको बेग्लै व्यवस्था गर्ने।

५. संक्रमण अवधिभरका लागि भएपनि अनुशासन शिक्षक करारमा लिने।

ख. शिक्षकहरूको भूमिका

१. आफू अनुशासित हुने र विद्यार्थीहरूलाई अनुशासित हुन सिकाउने।

२. कक्षा कोठामा दूरी कायम गरेर शिक्षण क्रियाकलाप गर्ने।

३. अध्यापनका तिनै सिफ्टका लागि उपलब्ध हुन मानसिक रूपमा तयार हुने।

४. कक्षा कार्य भन्दा गृहकार्य गर्न विद्यार्थीहरूलाई अभिप्रेरित गर्ने।

५. विद्यार्थीहरूको शैक्षिक उपलब्धिको मापन नियमित गर्ने।

६. पाठ्यक्रमका आधारमा सन्दर्भ सामाग्रीहरू प्रयोग गरेर पढाउने।

ग. अभिभावकहरूको भूमिका

१. आफ्ना छोराछोरीहरूको सरसफाई तथा स्वास्थ्यमा विशेष ध्यान दिने।

२. विद्यालय पोसाकदेखि शैक्षिक सामाग्रीहरूको ठीक व्यवस्था गर्ने।

३. समय मै आफ्ना छोराछोरीहरूलाई विद्यालय पुर्याउने र ल्याउने।

४. खानेपानी तथा खाजाको व्यवस्था गर्ने।

५. घरमा विद्यलायले दिएको गृहकार्य गर्न सहयोग गर्ने तथा गरे नगरेको हेर्ने।

६. समय मै विद्यालयलाई तिर्नुपर्ने शुल्क तिरिदिने वा विद्यालय सञ्चालनमा योगदान गर्ने।

घ. राज्यः स्थानीय सरकारदेखि संघीय सरकारको भूमिका

१. आर्थिक तथा प्राविधिक श्रोतहरूको व्यवस्था समय मै गर्ने।

२. विद्यालय सञ्चालन निर्देशिका बनाउने र लागु गर्ने।

३. सार्वजनिक विदाहरू कटौती गर्ने।

४. शिक्षक, विद्यालय प्रशासन तथा व्यवस्थापन समितिको क्षमता विकासको योजना लागु गर्ने।

५. सञ्चार माध्यमहरू प्रयोग गरेर जनचेतना बढाउने खालका गतिविधि गर्ने।

६. सार्वजनिक विद्यालयहरूले न्युनतम शुल्क लिन पाउने सिमा तोकि दिने।

शैक्षिक सत्रको बाँकी अवधिभित्र पाठ्यक्रमले तोकेको निश्चित पाठ्यभार नघट्ने गरी पठ्नपाठन कसरी सञ्चालन गर्ने ?

असोजदेखि कक्षा सञ्चालन गर्ने अवस्था बनेमा यो वर्षमा हामी सँग २१५ दिन बाँकी हुन्छ। दशैं, तिहार र छठ पर्व यो बीचमा परेकोले लगभग ३० दिन र २६ वटा शनिबारहरूमा हामी कुनै शैक्षिक गतिविधि गर्न सक्दनौं। अब हामीसँग जम्मा १५९ दिनमात्र बाँकी रहनेछ। बन्दाबन्दीको समयमा वैकल्पिक विधिबाट शैक्षिक गतिविधि गरेका विद्यालयहरूले त लगभग पाठ्यभारको ८०% पढाउन सक्लान। तर अन्य विद्यालयहरूलाई त्यो सम्भव छैन। साना कक्षाहरूको त केहि पाठ्यभार घटाउन पनि सकिएला तर कक्षा ८, ९ र १० को भने पाठ्यभार घटाउन मिल्दैन वा सकिंदैन्। यसो भएपछि २०७७ चैत भित्रै शैक्षिक सत्र पुरा हुने स्थिति हुने छैन्। यसर्थ हामीलाई पढाइ पूरा र परीक्षा सम्पन्न गर्न कम्तिमा अरू ४५ दिन चाहिन्छ। त्यसैले अर्को शैक्षिक सत्रको ४५-५० दिन प्रयोग गर्नुपर्ने हुन्छ।

अन्य उपाय तथा सम्भावनाहरू के के हुन सक्छन् ?

यो शैक्षिक सत्रभित्रै पाठ्यक्रमले तोकेको पाठ्यभार पूरा हुने गरि कक्षा सञ्चालन गर्ने होभने समुदाय स्तरमा पनि शैक्षिक गतिविधि गर्ने योजना बनाउनु पर्छ। ति गतिविधिहरू संरचनाविहिन तर औपचारिक हुनुपर्छ । यो गतिविधि नियमित गर्न स्थानीय सरकार, विद्यालय र समुदायबिच सहकार्य गर्नुपर्छ । स्थानीय सरकारले यसका लागि आवश्यक जनशक्तिको व्यवस्था गरेर टोल-टोलमा पुगेर विद्यार्थीहरूको शैक्षिक गतिविधिमा सहयोग पुर्याउन ति जनशक्तिलाई कम्तिमा सातदेखि दश दिनको आधारभूत तालिम दिनुपर्छ। तिनीहरूको कार्यदक्षता अभिवृद्धि गर्न अनौपचारिक प्रशिक्षणको व्यवस्था गर्नुपर्छ। भर्चुअल माध्यमलाई सम्भव भएसम्म नियमित गुर्न पनि पर्छ।

परीक्षा दिने समय पुग्दैन भने कक्षा तथा गृहकार्यलाई आधार बनाएर नियमित मूल्याङ्कन गर्ने र घर मै प्रश्न पत्र पठाएर जाँच लिने होभने शैक्षिक सत्रको कम्तिमा ३० दिन जोगाउन सकिन्छ। विश्वविद्यालयहरूले यो विधि अपनाउन थालेका छन्। अब विद्यालयहरूले पनि अपनाउन सक्ने विधि बनाउन शिक्षा मन्त्रालयले निर्देशिका बनाउनु पर्छ। तर एसईई परीक्षाको मूल्याङ्कन गर्नेजस्तो विधिले भने काम गर्ने छैन् भन्ने कुरा हेक्का राख्नुपर्छ ।

होम स्कुलिङको अवधारणालाई अपनाउन सकियोभने पनि साना कक्षाका विद्यार्थीहरूलाई नियमित विद्यालय जानुपर्ने हुँदैन्। यसले साना बालबालिकाहरू संक्रमणको जोखिममा पर्ने सम्भावना पनि हुँदैन। होम स्कुलिङ अवधारणालाई लागु गर्न सकियोभने यो शैक्षिक सत्रमा माथिल्लो कक्षाका विद्यार्थीहरूलाई बढी समय दिएर पठनपाठनमा संलग्न गर्न पनि सकिन्छ। जसले थोरै समयमा ठूला कक्षाको पाठ्यभार पूरा गर्न सहयोग पुर्याउनेछ।

“जहाँ ईच्छा त्यहाँ उपाय” भनेजस्तै यदि अभिभावकदेखि शिक्षा मन्त्रालयले ईमान्दार प्रयास गर्ने होभने असम्भव केहि पनि छैन्। बैशाख २०७८ भित्र नै शैक्षिक सत्र पूरा गर्न सकिन्छ। कोभिड १९ को त्रास देखाएर अब पनि शिक्षालय बन्द नै गरिरराख्ने होभने शैक्षिक सत्र खेर फाल्ने मूर्खता गर्नु हुँदैन्। यो शैक्षिक सत्र खेर जानु भनेको लाखौं लाख बालबालिकाहरूको भविष्यमाथि खेलबाड गर्नु हो। तसर्थ ढिलो नगरी सबै वैकल्पिक उपायहरू प्रयोग गरेर शैक्षिक सत्रलाई सुरू गर्दै जोगाउनतिर लाग्नुपर्छ।

कमजोर व्यवस्थापकीय क्षमता अनि श्रोत साधनको अपर्याप्तताले सबै ठाउँमा एकै प्रकारले शैक्षिक गतिविधि नियमित गर्न सकिने स्थिति पनि छैन्। अभिभावकदेखि लिएर राज्यसम्मले अधिकतम योगदान गरेर शैक्षिक सत्र प्रभावकारी रूपमा सुरू र नियमित गरौं। रबिन्द्र नाथ टैगोरले भने जस्तो बालबालिकाहरू नितान्त नयाँ परिवेसमा हुर्कदैछन् उनीहरूलाई आफूले जानेको वा सिकेको ज्ञानमात्र दिने होईन्, नयाँ ढङ्गले सिकाउनु पर्छ। तसर्थ यो चुनौतीलाई बुझेर बिलकुल नयाँ ढङ्गले कार्यशील हुन र देशको भविष्यलाई राम्रो तरिकाले सिकाउन थालौं। जति पनि असम्भवहरू छन् तिनलाई सम्भव बनाउने रणनीतिक योजनाका साथ शैक्षिक सत्र असोज १ बाट सुरू गरौं।

धन्यवाद !

प्रतिकृया दिनुहोस्