नेकपाको प्रशिक्षण कार्यक्रम वडा कमिटी द्धारा प्रतिवन्ध सहित बहिष्कार गर्ने निर्णय

सत्तारुढ नेकपाले बुधवार भेरी नगरपालिकाको स्याउलीवजारमा गर्ने भनेको अगुवा कार्यकर्ता प्रशिक्षण तथा भेला कार्यक्रमलाइ नेकपाकै कार्यकर्ताहरुले वहिष्कार तथा अवरोध गर्ने निर्णय गरेका छन् ।

नेकपाको भेरी नगरपालिका वडा नम्वर ७ को वडा कमिटीको सोमवार वसेको वैठकले पार्टीले स्याउलीवजारमा आयोजना गर्ने भेला तथा प्रशिक्षण वहिष्कार गर्दै उक्त कार्यक्रम गर्न नदिने निर्णय समेत गरेको छ ।

स्थानीय तह, प्रदेश तह र संघीय संसदको निर्वाचनमा वहुमत ल्याएर पनि नेकपाका नेता र साँसदहरुले आफनो गाउँको विकासका कुनै चासो र चिन्ता नगरेको भन्दै आफुहरुले स्याउलीमा आयोजना गर्न लागिएको भेला तथा प्रशिक्षण वहिष्कार गर्ने निर्णय गरेको उनीहरुले वताएका छन् ।

सोमवार वडा कमिटिका अध्यक्ष धनवहादुर शाहीको अध्यक्षतामा वसेको वैठकले प्रशिक्षण कार्यक्रम बहिष्कार गर्नुका साथै प्रक्षिक्षणका लागि निर्धारण गरिएको स्याउलीबजारमा समेत कार्यक्रम गर्न नदिने निर्णय गरिएको हो । पार्टीको भारी जनमत भएको जिल्लामा जनप्रतिनिधि पनि सवै नेकपाकै भएको अवस्थामा पनि ७ नम्वर वडाको विकासका वारेमा नेताहरुले खासै चासो नदिएकोले २८ गते भेरी नगरका ७, ८ र ९ नम्वर वडाका अगुवा कार्यकर्ताका लागि तय गरिएको प्रशिक्षण कार्यक्रम आफुहरुले वहिष्कार गर्ने वडा कमिटिका अध्यक्ष धनवहादुर शाहीले वताए ।

उनले मेयर उपमेयर मात्र नभइ राष्टिय सभा, प्रतिनिधि सभा प्रदेश सभामा चुनाव जितेका नेताहरुले अहिले सम्म एक पटक पनि फर्केर साविकको पुन्मा गाविसलाइ नहेरेको र पार्टीलाइ प्राप्त भारी जनमतको पनि कदर नभएकोले आफुहरुले वडा कमिटिको वहुमतको निर्णयले अगुवा कार्यकर्ता भेला वहिष्कार गर्ने निर्णय गरेको वताए ।
शनिवार सोहि वडाको पुन्मा नेपाली काँग्रेसको वडा समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सत्तारुढ नेकपाका ४५ जना कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका थिए । नेपाली काँग्रेसको कार्यक्रम भएको दुइ दिन पछि नेकपाको वडा कमिटिले आफना नेताहरुप्रति चर्काे आक्रोस र असन्तुष्टि व्यक्त गर्दै औपचारिक निर्णय गरेर पार्टीको अगुवा कार्यकर्ता भेला वहिष्कार गर्ने निर्णय गरेको हो ।

वडा कमिटीको निर्णयको स्वागत गदै नेकपा निकट वुद्धिजीवी गंगवहादुर शाहीले सामाजिक सञ्जाल फेसवुक मार्फत नेतृत्व प्रति असन्तुष्टि ब्यक्त गरेका छन् । उनले अगाडी भनेका छन् ‘स्पष्ट दृष्ट्रिकोण छैन भने कोही कसैले पनि राजनिति नगरौ किन कि कुनै एउटा राजनीतिक निर्णयका पछाडी समुदायका हजारौं सपना जोडिएका हुन्छन् । जनताले दिएको भोटलाइ पैतलामुनी कुल्चेर शक्ति, सम्पत्ति र सत्ताको रसलिलामा हनुमानहरुको साँघुरो घेरामा लिप्त हाम्रा कमरेडहरुबाट अब धेरै आश गर्ने अवस्था रहेन । यसकारण हामीलाइ कसैसंग प्रतिस्पर्धा गर्नु छैन कसैलाइ पछाडी पार्नु छैन । अब हामीलाइ कसरी हाम्रो समुदायलाइ समृद्ध बनाउने भन्ने उपायको खोजी गर्नु छ ।’

यता नेकपाका भेरी नगरकमिटीका इन्चार्ज इमाश्वर देवकोटाले स्याउलीको कार्यक्रम स्थगित हुने संकेत दिए । मंगलवार सुरक्षा समितिको बैठक छ । स्थानिय प्रशासनले कोभिड संक्रमण फैलन सक्ने भन्दै दलका गतिविधि तत्काल रोक्नन आग्रह गरेको छ तसर्थ पनि कार्यक्रम स्थगित हुने संभावना छ । साथीहरुका असन्तुष्टि छन् । बसेर समाधान खोज्छौ उनले भने ।

प्रतिकृया दिनुहोस्