परीक्षा सुरक्षित बनाउन यस्तो छ राष्ट्रिय परीक्षा बोर्डको तयारी

राष्ट्रिय परीक्षा बोर्र्डले कक्षा १२ को परीक्षालाई विगतको भन्दा भिन्न तरिकाले सञ्चालन गर्न खोजेको छ । यस पटक विद्यार्थीलाई नजिकको परीक्षा केन्द्र्र र होम सेन्टर दिइएको छ । यसबाट विद्यार्थीलाई डेरा लिएर बस्नु नपर्ने, धेरै टाढा जानु नपर्ने र परीक्षार्थीका बीचमा धेरै जमघटसमेत हुनु नपर्ने भएकोले परीक्षालाई स्वास्थ्यको हिसाबले पनि सुरक्षित बनाउन सकिने जनाइएको छ । ४० नम्बरको लिखित परीक्षाका लागि यस पटक विद्यार्थीहरू बढीमा डेढ घण्टा मात्रै परीक्षा
हलमा रहनेछन् ।

जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गर्ने गरी प्रत्येक विद्यार्थीको कम्तीमा दुई/दुई मिटरको दूरी कायम गरी एउटा परीक्षा हलभित्र बढीमा २० परीक्षार्थी रहने व्यवस्था मिलाई, स्थानीय तह, स्वास्थ्य सङ्घ, संस्थासँग आवश्यक समन्वय गरी परीक्षा सञ्चालन गर्ने व्यवस्था बोर्डले मिलाएको छ ।

परीक्षा केन्द्रमा हेल्थडेस्कको समेत स्थापना गर्न बोर्डले जारी गरेको परीक्षासम्बन्धी कार्यविधिमा उल्लेख गरिएको छ । बोर्डले विद्यार्थीलाई कोभिड–१९ को सङ्क्रमणको शङ्का भएका अलग्गै कोठामा राखी परीक्षा लिने व्यवस्था गर्न निर्देश गरेको छ ।

मङ्सिर ९ गतेबाट सुरु भएको परीक्षा १६ गतेसम्म सञ्चालन हुनेछ । यस पटकको कक्षा १२ को परीक्षामा विद्यार्थीको कक्षा ११ को ४० प्रतिशत मूल्याङ्कनलाई पनि जोडिनेछ । साथै, कक्षा १२ को ४० प्रतिशत लिखित परीक्षा र विद्यालयले लिने आन्तरिक मूल्याङ्कनको २० प्रतिशतका आधारमा विद्यार्थीको मूल्याङ्कन गरिनेछ ।

प्रतिकृया दिनुहोस्