नलगाड जलविद्युत आयोजनामा लगानी गर्न जापान सहमत

४ सय १७ मेगावाटको नलगाड जलविद्युत आयोजना अघि बढ्ने भएको छ । जापान भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन र जापानी विकास नियोग (जाइका) का कार्यकारी उपाध्यक्ष काजुहिको कोशिकावा बीच बिहीबार भएको भेटवार्तामा उक्त आयोजनालाई अघि बढाउने विषयमा सहमति भएको ऊर्जामन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

मन्त्री पुनले उक्त परियोजनालाई अघि बढाउने विषयमा बुधवार जापानका संसदीय, परराष्ट्र, उपमन्त्री नोरुहिरो नाकायामा, कृषि, वन तथा मत्स्यपालन राज्यमन्त्री योसिताका ईता र जापान संसदीय मैत्री समूहका अध्यक्ष तथा लिबरल डेमोक्राटिक पार्टीका महामन्त्री तोसिहिरो निकाइसँग छलफल गरेका थिए ।

भेटवार्तामा ऊर्जा मन्त्रालयका सहसचिव तोया अधिकारी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतका उच्च अधिकारी सहभागी थिए । ऊर्जामन्त्री पुनले जाइकाले पिपिपि (साँझेदारी) मोडेलमा उक्त आयोजना अघि बढाउने गरी प्रस्ताव गरेको जानकारी दिए । उनका अनुसार उक्त आयोजनालाई जाइकाले उच्च प्राथमिकतामा राखेको छ ।

‘जाइकासँगको छलफल अत्यन्तै सकरात्मक भएको छ, डिपिआरको अध्ययन लगत्तै परियोजनालाई अघि बढाउने गरी पहल थाल्ने प्रतिवद्धता जनाउनुभएकोले पनि चांडै यसले मूर्त रुप पाउनेमा म आशावादी छु ।’ मन्त्री पुनलाई उद्धृत गर्दै सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यसका साथै छलफलको क्रममा जाइकाका उपाध्यक्ष कोशिकावाले नेपालको उर्जा क्षेत्रमा थप लगानी गर्ने प्रतिवद्धता समेत जनाएका छन् । आगामी १० वर्षमा नेपालले १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको र उत्पादित विजुली बेच्नका लागि भारत र बंगलादेशसंग सम्झौता भइसकेको मन्त्री पुनको भनाई थियो । उनले उत्पादित विजुलीको लागी आन्तरीक र बाह्य बजार बनाउन सरकार सक्षम रहेको धारणा राखेका थिए ।

प्रतिकृया दिनुहोस्