वैज्ञानिक समाजवाद : अद्वितीय विकल्प र सम्पूर्ण समाधान

आजको दुनियाँमा उत्तरसाम्राज्यवाद मूलतः दलाल पुँजीवादको अन्त्य गर्ने र वैज्ञानिक समाजवाद प्राप्तिको मार्ग एवम् हतियार एकीकृत जनक्रान्तिको कार्यदिशा नै हो । 

क) सुरुआत
आज दलाल पुँजीवाद चरम सङ्कटमा परिरहेको छ । ‘सबै एउटै हुन् र कसैले केही गर्दैनन्’ भन्ने आमजनगुनासो सर्वत्र सुनिन्छ । यसको तात्पर्य हो– अब आमजनताले विद्यमान व्यवस्थाको आमूल परिवर्तन, एक मात्र विकल्प एवम् सम्पूर्ण समाधान वैज्ञानिक समाजवाद नै खोजिरहेका छन् । यो जनअपेक्षा एवम् उद्देश्य किन पूरा हुन सकेन ? कारण छन् । यो के सम्भव छैन ? सम्भव छ ।

पहिलो कारण : राजनीतिक पार्टीहरूले आन्दोलनको उद्देश्य  केवल सम्झौता बनाउनु हो । सबै जनसङ्घर्ष, जनआन्दोलन र जनयुद्धमा अभिव्यक्त जनादेशको उपहास भयो । आमजनतालाई धोका मात्र भयो ।

दोस्रो कारण : व्यवस्थामा आमूल परिवर्तन नगर्नु, केवल फरक नाम दिएर पुरानै व्यवस्था लाद्नु हो । फोहोर भाँडोलाई सफाचट नगरेर झिँगा मारेजस्तो ।

तेस्रो कारण : प्रतिक्रियावादी, यथास्थितिवादी, प्रतिगामी र नवसंशोधनवादी पार्टीहरूले आलोपालो गरेर पुरानै व्यवस्थाको सरकारमा मन्त्री र सांसद बनेर देश कङ्गाल बनाउनु, जनतामाथि शासन गर्नु, शोषण–उत्पीडन गर्नु र भ्रष्टाचार, कमिसन, महँगी, कालोबजारी, तस्करीबाट ब्रह्मलूट गरेर पुस्तौँ–पुस्ताका लागि सम्पत्तिको डङ्गुर थुपार्नु हो । सुन्तलाको बोटमा आँप फल्ने कुरै भएन । त्यसैले ‘सबै एउटै हुन् र कसैले केही गर्दैनन्’ भन्ने आमजनगुनासो व्यक्त मात्र होइन, नियति बनिरहेको छ । जनताले ‘जुन जोगी आए पनि कानै चिरिएका’ दलालहरूलाई भनिरहेका छन् ।

चौथो कारण : क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्वमा सञ्चालित जनक्रान्तिहरू पनि विजयमा नपुग्नु हो । क्रान्तिकारी उद्देश्य एवम् उत्साहमा सुरु भएको झापा आन्दोलन केही व्यक्तिहरूले कालो ट्याङ्कीमा पैसा जम्मा गर्ने, काठमाडौँमा घरजम गर्ने र पुरानै व्यवस्थामा गएर मन्त्री र सांसदको जागिर खानेभन्दा अरू के पो भयो र ? प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गरी नयाँ जनवादी राज्यसत्ता स्थापनाका लागि थालिएको महान् जनयुद्ध पनि प्रचण्ड–बाबुरामको महापतनले गम्भीर विसर्जन एवम् विघटन हुँदै भयानक प्रतिक्रान्तिमा परिणत भयो । हालसम्मका सबै जनसङ्घर्ष, जनआन्दोलन र जनयुद्धमा आमजनताले गरेको त्याग, तपस्या, वीरता र बलिदानलाई दलालहरूको अखडा सिंहदरबार–बालुवाटार–बीआईसीसीमा विराजमानहरूले काठमाडौँको टुकुचा खोलामा लगी बगाएर उपहास गरे । यसमा राजनीतिक क्रान्तिको पूर्ण विजय नहुनु, पुरानो शासक वर्गको एउटा हिस्सा मात्र पराजित हुनु र क्रान्तिकारी माओवादी शक्तिमा विचलन, विघटन र महापतन हुनु हो । खगेन्द्र सङ्ग्रौलाको ‘नलेखिएको इतिहास’ र भागीरथी श्रेष्ठको ‘भूमिगत’ कथाजस्तै भयो ।

पाँचौँ कारण : विदेशी शक्तिकेन्द्रहरूले हस्तक्षेप, आक्रमण, उपनिवेश÷औपनिवेश र दलाल खडा गर्नेबाहेक अरू केही गरेनन् ।  दलाल बनाउने वा मार्ने साम्राज्यवादी रणनीतिका कारण सबै क्रान्ति र जनआन्दोलन हात्ती आयो, हात्ती आयो, फुस्सा भयो । राणाशासन फालेर जनतन्त्र ल्याउने, पञ्चायत र राजतन्त्र फालेर जनगणतन्त्र स्थापना गर्ने जनअपेक्षा अधुरै भयो । धोका, धोका फेरि पनि धोकाबाहेक केही भएन । अनि आमजनताले सबै एउटै हुन् नभनेर के भनून् ? वर्तमानको कथित सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म राज्यसत्तामा आमूल परिवर्तन अवरुद्ध भइरहेको छ । केवल व्यवस्थाको नाम बदलिएको, पार्टी र नेता फेरिएका छन् । कोकाकोला–पेप्सीकोला र पेप्सीकोला–कोकाकोलाको विज्ञापन एवम् व्यापारजस्तो । महान् जनयुद्ध र राजतन्त्रको अन्त्यपछि हाम्रो मुलुकको राज्यसत्तामा दलाल पुँजीवादको प्रभुत्व कायम भयो । भूतपूर्व सामन्तवादी, दलाल पुँजीपतिहरू र नोकरशाही पुँजीपतिहरू विलय भएका छन् । तिनीहरू रूपमा सामन्त, नोकरशाह र पुँजीपति देखिए पनि सारमा दलाल पुँजीवादी नै हुन् । दलालहरूले पुरानै व्यवस्थामा रङरोगन गरेर, जनतालाई विभ्रमित र ब्रम्ह्लूट गरेर मुलुकलाई दलालहरूको अखडा बनाइरहेका छन् । १८ औँ शताब्दीका मजदुरहरूले मेसिनका विरुद्ध आन्दोलन गरेर आफ्नो मुख्य शत्रु मालिक (पुँजीपति) लाई केही समयसम्म चिन्न सकेका थिएनन् । जब मजदुरहरू प्रशिक्षित, सङ्गठित र आन्दोलित भए, तब मालिक, पोप र सम्राट् (बादशाह) हरूको लूटको स्वर्ग ढालेर मुक्त भएका थिए । सचेत आमजनताले दलालहरू र सङ्कटग्रस्त दलाल पुँजीवादलाई अब बचाउने छैनन् । आज दलाल पुँजीवादी व्यवस्थाको विकल्प दलाल पुँजीवाद तथा अमूक पार्टी र नेताको विकल्प अमूक पार्टी र नेता हुन सक्दैन । आमजनताले अहिलेको दलाल पुँजीवादी व्यवस्थामा काङ्ग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, राजा आदि हेरफेर गर्न खोजेका कदापि होइनन् । आमजनताले सदियौँदेखिको हिन्दु राज्य एवम् राजतन्त्र, बूढो काङ्ग्रेसको प्रजातान्त्रिक समाजवाद, सामाजिक दलाल पुँजीवादीहरूको कथित समाजवाद आदि सबै देखिसकेका छन् । ती कुनै विकल्प होइनन् । यो तथ्य हो, जनताले अब वैज्ञानिक समाजवाद नै रोजेका र खोजेका छन् । यो तथ्य र सत्यले चुनौतीको पहाड मात्र होइन, सम्भावनाको क्षितिज खुलिरहेको छ ।

ख) दलाल पुँजीवादको सङ्कट
‘मात्र संसदीय संवैधानिक राजतन्त्रहरूमा होइन, अपितु सबभन्दा प्रजातान्त्रिक गणतन्त्रहरूमा समेत सतारूढ वर्गको कुनचाहिँ सदस्यले संसद्मा गएर जनताको दमन र उत्पीडन गर्ने हो भन्ने प्रश्नमा केही वर्षमा एकपल्ट निर्णय लिनु नै पुँजीवादी संसदीय व्यवस्थाको वास्तविक सार हो ।’ (तेस्रो अध्याय, राज्य र क्रान्ति । सन् १८७१ मा पेरिस कम्युनको अनुभव । मार्क्सको विश्लेषण) मा लेनिनले सुन्दर ढङ्गले उल्लेख गर्नुभएको थियो । विश्वमा असफल एवम् बदनाम दलाल पुँजीवादी संसदीय व्यवस्थाको वास्तविक सार चरित्र र दलालहरूको हर्कत जनताले बुझिसकेका छन् । आज दलालहरूको ‘सुखी नेपाली र समृद्ध नेपाल’ नारा चरम भ्रष्टाचार, कमिसन, महँगी, बेरोजगारी, कालोबजारी, चर्को कर, राष्ट्रघात, जनघात, जनविरोधी हर्कतमा बदनाम भएको छ । त्यसले जनजीवन आक्रान्त बनेको छ । सयौँ नागरिक झाडापखाला, क्षयरोग आदि सामान्य रोगबाट ज्यान गुमाउँछन् । लाखौँ बालबालिका शिक्षाको नैसर्गिक अधिकारबाट वञ्चित छन् । महिलाहरू बच्चा जन्माउन नसक्दा अकालमा ज्यान गुमाउँछन् ।  विदेशका कालकोठरीहरूमा नारकीय जीवन जिउन विवश छन् । सयौँ बालिका बलात्कारको सिकार हुन्छन् । निरास बेरोजगारका रूपमा हजारौँ–हजार युवकयुवती आत्महत्या गर्छन् । करिब एक करोड युवा विदेशमा श्रमदासका रूपमा कठिन जीवन जिउन विवश छन् र दैनिक ३ बाकस लास स्वदेशमा आउँछन् । युवाहरू अर्काको देशमा भाडाका सिपाही बनेर लड्न जान छाती र तिघ्रा नपाउन यत्रतत्र लाम लागिरहेका छन् । गोर्खा भर्तीकेन्द्रहरू बन्द भएका छैनन् । सुकुमबासीहरूको छाप्रोमा डोजर एवम् आगो लगाइन्छ । मजदुरहरू भोकै मर्छन् । सुखी नेपालीको हल्ला चलिरहँदा ६८ लाख मानिस गरिबीको रेखामुनि छन् । मानवसभ्यताको कलङ्क छुवाछुत एवम् विभेदको जाँतोमा दलित समुदायमाथि अमानवीय शोषण, उत्पीडन र दमन भएको छ । सामाजिक सेवाको क्षेत्र शिक्षा–स्वास्थ्यमा ठूलो व्यापार एवम् मुनाफा आर्जन गरिन्छ । दुई खालका स्कुल र अस्पताल छन् । पुँजी र प्रतिभा विदेश पलायन भइरहेको छ । राष्ट्रिय उद्योग–कलकारखाना बन्द गरिन्छन् । बहुमूल्य जडीबुटीहरूको तस्करी हुन्छ । सबै नदीनाला बेचिएका छन् । खानी–खनिजहरू विदेशी माडेहरूले दलालहरूको मिलोमतोमा दोहन गर्छन् । विश्वमा सस्तो श्रम बेच्ने, सस्तो कच्चा पदार्थ निर्यात गर्ने, व्यापारघाटा आदिले देश समृद्ध हुन्छ कि कङ्गाल ? तसर्थ यो सबै दलाल पुँजीवाद र दलालहरूको सङ्कट हो, जनताको होइन । त्यसले दलाल सत्ताको मृत्युको घन्टी बजिरहेको छ । क्रान्तिको सुनामी आउँदैछ । ‘हाम्रा लागि नैराश्यको कारण नभएर निकै उत्साहजनक कुरा हुन गएको छ । युरोप र एसियाको यस अनुभवपछि वर्गविहीन राजनीति र वर्गविहीन समाजवादबारे बकबास गर्नेहरूलाई पिँजडाभित्र थुनेर कुनै अस्ट्रेलियाली केङ्गुरासँग प्रदर्शनीमा राख्नुपर्छ । बहुलट्ठीपूर्ण शस्त्रीकरण र साम्राज्यवादी नीतिले आधुनिक युरोपमा यस्तो सामाजिक शान्ति ल्याउँदैछ जुन बारुदको पिपाजस्तो छ । समस्त बुर्जुवा पार्टीहरूको पतन र सर्वहारा वर्गको प्रौढता दिन–प्रतिदिन बढ्दोछ ।’ (मार्क्सको शिक्षाको ऐतिहासिक भवितव्य, लेनिन, प्राभ्दा, अङ्क ५०, मार्च १९१३, खण्ड २३, पृष्ठ १–४) अक्टोबर क्रान्तिको विजयपछि लेनिनले भनेझैं जनता निराश होइन, आक्रोशित र आशावादी छन् । दलालहरूको फासिवादी दमन र खिचातानीको घृणित खेलले शान्ति र समृद्धि होइन, बरु सबै दलालहरूको पतन, आमजनतामा परिपक्वता र जनक्रान्तिको आधार बलियो बनिरहेको छ । ‘सुखी नेपाली र समृद्ध नेपाल’ नारा भ्रम छर्ने, जनता ठग्ने र भोट माग्ने भाँडो मात्र हो । अब कुनै विलम्ब नगरी दलाल पुँजीवाद र दलालहरूलाई राख्ने सङ्ग्रहालय बनाएर प्रदर्शन गर्नै पर्दछ । ‘वर्गसङ्घर्ष नै समस्त विकासको आधार र अनुप्रेरक शक्ति हो । जबसम्म मानिसहरूले हरप्रकारका नैतिक, धार्मिक, राजनीतिक, सामाजिक प्रचार, घोषणा र सान्त्वनाको पछिल्तिर लुकेको कुनै न कुनै वर्गीय स्वार्थको खोजीनीति गर्न जान्ने छैनन् तबसम्म उनीहरूले राजनीतिमा सधैँ धोकाबाजी र आत्मवञ्चनाको सिकार बनिरहनु पर्नेछ । हरप्रकारको पुरानो व्यवस्था जतिसुकै युग नसुहाउँदो र मक्किएको प्रतीत भए पनि कुनै न कुनै सत्तारूढ वर्गको शक्तिमा टिकेको हुन्छ भन्ने कुरा नबुझेसम्म प्राचीनताका सुधारवादीहरूलाई मूर्ख बनाइरहेकै हुन्छन् ।’ (मार्क्सवादका तीन स्रोत र तीन सङ्घटक अङ्ग, लेनिन, प्रोस्वेसेनिए अङ्क ३, मार्च, १९१३, खण्ड २३, पृष्ठ ४०–४८) मा लेनिनले उल्लेख गरेझैँ समस्त विकासको आधार र अनुप्रेरक शक्ति एकीकृत वर्गसङ्घर्षमा र राज्यसत्तामाथि विजय हासिल नगरेसम्म राजनीतिमा सधैँ धोकाबाजी र आत्मवञ्चनाको सिकार सबै बनिरहनु पर्नेछ । दलाल पुँजीवादले मुनाफा र सत्ता रक्षाका लागि लूट, विध्वंस र उपद्रो गरिरहेको छ । यो सङ्कट, असफलता र विनासको मृत्युशैय्यामा छट्पटाइरहेको छ । विश्व–साम्राज्यवादको सङ्कट पनि केवल निजत्व, अतिएकाधिकार, अतिक्रमण, लुछाचुँडी, भागबन्डा, भ्रष्टाचार, तस्करी, असमानता, भिडन्त, दमन, युद्ध, विध्वंस र विद्रोहले चरम बनाइरहेको छ । यसले आफ्नो वैचारिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक हिंश्रक र अमानवीयतालाई कथित लोकतन्त्र, प्रजातन्त्र र मानवअधिकारको मुखुन्डोले छोप्न खोजे पनि उदाङ्गो बनेको छ । दुनियाँमा कोही अधिनायकवादी, उत्पीडनकारी, फासिवादी, युद्धवादी, धर्म र जातिवादी छ भने त्यो हो– उत्तरसाम्राज्यवाद । त्यसैको खच्चर नेपालमा दलाल पुँजीवाद हो । दलाल पुँजीवाद र फासिवादको अन्त्य अनिवार्य छ ।

ग) वैज्ञानिक समाजवाद सम्पूर्ण समाधान
‘समाजवाद स्वप्नद्रष्टाहरूको मनगढन्ते कुरा होइन, यो त आधुनिक समाजमा उत्पादक शक्तिहरूको विकासको अन्तिम उद्देश्य एवम् अनिवार्य परिणाम हो ।’ (मार्क्स–एङ्गेल्स, सङ्कलित रचनाहरू, खण्ड १, पृष्ठ १५) मा उल्लेख भएझैँ वैज्ञानिक समाजवाद हवाईकल्पना एवम् सपना मात्र होइन । सुनको भ-याङ चढेर आकाश छुने गफ र कुम्भकर्ण निद्राको सपना होइन । सर्वहारा वर्गलार्ई सर्वप्रथम सत्ताको मालिक बनाउन सफल तथा शिक्षा प्रदान गर्ने पेरिस कम्युन सन् १८७१, नयाँ ढङ्गले पहिलोपटक पृथ्वीको विशाल भूभागमा वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्न सफल अक्टोबर क्रान्ति सन् १९१७ र एसियाको विशाल भूमिमा वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्न विजयी चिनियाँ क्रान्ति सन् १९४९, पूर्वी युरोपमा पोल्यान्ड, युगोस्लाभिया, चेकोस्लाभिया, रुमानिया, हङ्गेरी, अल्बानिया, बुल्गेरिया र पूर्वी जर्मनी सन् १९४५–१९५०, भियतनाम (उत्तरी) सन् १९४६, कोरिया सन् १९४८ र क्युबा सन् १९५९ का क्रान्ति र सत्ताको अनुभव र शिक्षाबाट अझै विकसित छ । वैज्ञानिक साम्यवादी विचारधारा विज्ञानका अकाट्य तथ्यहरूसहित उन्नाईसौँ शताब्दीमा संसार हल्लाउँदै उदय भयो । सम्राट्, पोप र मालिकहरूलाई परास्त गरेर वैज्ञानिक समाजवाद विजयी भयो । वैज्ञानिक समाजवादको विचारधारात्मक अनुसन्धानले क्रान्ति सम्पन्न र सत्ता स्थापना भयो । शोषण, उत्पीडन, असमानता र वर्गको अन्त्य गरेर श्रमिक वर्गको सत्ता निर्माण, समानतामूलक र समृद्ध जीवनको निर्माणले सफलता र लोकप्रियता हासिल भयो । सामाजिक साम्राज्यवाद (संशोधनवाद) को पतनलाई ‘इतिहासको अन्त्य भयो’, ‘विचारधारात्मक युगको अन्त्य भयो’, ‘संसदीय व्यवस्था नै अन्तिम व्यवस्था हो’ जस्ता भ्रम, विभ्रम र उपहासहरूलाई धुजाधुजा पार्न सफल भयो । वैज्ञानिक समाजवाद मानव जातिलाई वर्ग, जात, राष्ट्र र धर्मविहीन बनाउने, तमाम प्रकारका शोषण–उत्पीडनबाट स्वतन्त्र, समान, शान्त, वैज्ञानिक र समृद्ध दुनियाँमा पु-याउने सर्वोत्तम मानवसभ्यता हो भन्ने पुष्टि भइसकेको छ । विश्व–मानव जाति एवम् मूलतः सर्वहारा श्रमिक वर्गलाई प्रज्वलित गर्न सफल कम्युनिस्ट घोषणापत्र अन्वेषण एवम् प्रक्षेपणको १७२ वर्ष, सर्वहारा वर्गलार्ई सर्वप्रथम सत्ताको मालिक बनाउन सफल तथा शिक्षा प्रदान गर्ने पेरिस कम्युनको १४९ वर्ष, नयाँ ढङ्गले पहिलोपटक पृथ्वीको विशाल भूभागमा वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्न सफल अक्टोबर क्रान्तिको १०३ वर्ष र एसियाको विशाल भूमिमा वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्न विजयी चिनियाँ क्रान्तिको ७१ वर्षपछिको दुनियाँमा हामी खडा छौँ ।  वैचारिक रूपले सन् १९५६ र भौतिक रूपले सन् १९८९–९१ वैज्ञानिक समाजवादको विचलन तथा सत्ताको विघटन क्षणिक धक्का र असफलता थियो । साम्राज्यवादी (पुँजीवादी) राजनीतिज्ञ, चिन्तक र विश्लेषकहरूका सतही, पूर्वाग्रही र उन्मादसहितका कर्कस र मिथ्या हल्लाहरूद्वारा सर्वसत्तावादी, निरङ्कुश, अधिनायकवादी, एकदलीय व्यवस्था आदि आरोप लगाउन थाले । डेरिडाले ‘मार्क्सले कल्पना गरेको महान् दृष्टान्तको अन्त्य भयो’, फुकुयामाले ‘विचारधारात्मक युगको अन्त्य भयो’, ‘अब प्रजातान्त्रिक संसदीय व्यवस्था नै अन्तिम व्यवस्था हो’ भन्ने ऐलान र प्रलाप गरे । तर आज पनि साम्राज्यवाद वैज्ञानिक समाजवादको मुटु प्रत्यारोपण गरेर बाँच्ने धृष्टता गरिरहेको छ । वैज्ञानिक समाजवाद– साम्यवादले मात्र मानव जातिलाई न्याय, मुक्ति, समानता, शान्ति, स्वाधीनता र समृद्धि दिन सक्छ । यसले नै वर्ग, जाति, लिङ्ग र क्षेत्रको पर्खाल भत्काउँछ । वैज्ञानिक समाजवादले मात्र वास्तविक जनवाद, स्वतन्त्रता र मुक्ति दिलाउँछ भन्ने सार्वभौम सत्य र असल पक्षहरूलाई हत्केलाले सूर्य छोप्न खोजेझैँ साम्राज्यवादीहरूले बकबास गरिरहेका छन् । आन्तरिक रूपले विचार–दर्शनमा विपरीतको एकत्वको नियम प्रकृति, समाज, पार्टी, सत्ता र निर्जीव वस्तुमा लागू गर्ने, बुझ्ने, बदल्ने, रक्षा र विकास गर्ने सवाल, राजनीतिक रूपले सर्वहारा वर्गको अधिनायकत्व र जनवादलाई जीवन व्यवहारमा कलात्मक प्रयोग र विकासमा केही सीमा रहेका थिए । आर्थिकमा निजी स्वतन्त्रता र सामूहिक (समाजवादी) स्वामित्वका विषयमा तालमेल एवम् निजी र सामाजिक स्वामित्व मैत्रीपूर्ण बनाउने, आर्थिक सम्बन्ध आधार र सत्ता संरचना, सञ्चालन र सांस्कृतिक रूपले समाजवादी र जनसंस्कृतिको समुचित र वैज्ञानिक सम्बन्ध कायम गर्ने सन्दर्भमा केही अभाव देखियो । बाह्य रूपले साम्राज्यवादी घेराबन्दी र घुसपैठ, संशोधनवादको पतन र समाजवादी धारामा विभाजनको असर रह्यो । यसबाट विश्व–सर्वहारावर्ग र श्रमिक जनता शिक्षित–दीक्षित भइसकेका छन् । वैज्ञानिक समाजवाद राजनीतिक रूपले सर्वहारा वर्गको नेतृत्व, किसान–मजदुरको मुख्य भूमिका, उत्पीडित जाति, राष्ट्र, लिङ्ग समुदायको स्वामित्वमा सत्ता, दलाल पुँजीपति वर्गको निषेध, प्रगतिशील, देशभक्त शक्तिहरूसँगको सहकार्यबाट अघि बढ्छ र वर्गविहीन, राज्यविहीन, सर्वोत्तम मानवसमाज, सभ्यता र व्यवस्थामा विकसित हुन्छ । आर्थिक रूपले सामन्ती भूस्वामित्वको अन्त्य, दलाल पुँजीको राष्ट्रियकरण, अति एकाधिकार पुँजीको प्रवेश रोक, दलाल एवम् सूदखोर पुँजीमाथि नियन्त्रण, आमजनतालाई गाँस, बास, शिक्षा, स्वास्थ्य, रोजगार, सूचना–सञ्चार आदिको अधिकार सुनिश्चित हुने, आत्मनिर्भर अर्थतन्त्रको निर्माण र विकास, राष्ट्रिय एवम् औद्योगिक पुँजीको विकास, उत्पादनमूलक अर्थसम्बन्धको विकासबाट अघि बढ्छ । शोषणरहित, समान, सुख–समृद्धिमा विकसित हुन्छ । दलाल पुँजीवादभन्दा फरक दृष्टिकोण, चेतना, जीवनशैली, संस्कार, आचरण र व्यवहारमा अभिव्यक्त हुन्छ । 

आजको दुनियाँमा उत्तरसाम्राज्यवाद मूलतः दलाल पुँजीवादको अन्त्य गर्ने र वैज्ञानिक समाजवाद प्राप्तिको मार्ग एवम् हतियार एकीकृत जनक्रान्तिको कार्यदिशा नै हो । औद्योगिक पुँजीवादले सर्वहारा वर्गलाई क्रान्तिको अग्रदस्ता मात्र बनाएन, बरु मजदुर–किसानको चट्टाने एकतामा साम्राज्यवादी पहिलो विश्वयुद्धकै क्रममा अक्टोबर क्रान्तिको विस्फोट र सोभियत सङ्घ स्थापना भयो । साम्राज्यवादी दोस्रो विश्वयुद्धपछि पूर्वी युरोप मात्र होइन, चीन, भियतनाम, कोरिया, लाओस आदि मुक्त भएका थिए । फिलिपिन्स, पेरू, टर्की, चिली, मलाया, बर्मा, कोलम्बिया, निकारागुवा, इन्डोनेसिया, ग्वाटेमाला, भेनेजुयला, ब्राजिल, भारत र नेपालमा क्रान्तिको पहल एवम् प्रारम्भ भए पनि विजयी भएनन् । । पूर्वी युरोप, सोभियत सङ्घ, मध्यपूर्व र एसियामा समाजवादमा संशोधनवादीहरूको पतन र साम्राज्यवादले कम्युनिस्ट आन्दोलन र सत्तामा हस्तक्षेप एवम् घुसपैठ ग-यो र प्रतिक्रान्ति भयो । आत्मगत रूपले रक्षात्मक विश्व–कम्युनिस्ट आन्दोलन, सामाजिक साम्राज्यवादको पतन एवम् असफल समाजवादी सत्ता, महान् नेपाली जनयुद्धले खाएको धक्का र विश्वका नयाँ अन्तरविरोधहरू र विशेषताहरूको गहन विश्लेषण र संश्लेषणको परिणाम हो– एकीकृत जनक्रान्ति । यो एकका विरुद्ध ९९ प्रतिशत आमजनताको क्रान्तिकारी ध्रुवीकरण, अभेद्य एकता र बलिदानीपूर्ण सङ्घर्षमा विजयी हुनेछ । वैज्ञानिक समाजवादः अद्वितीय विकल्प र सम्पूर्ण समाधान हो । उत्तरसाम्राज्यवाद र दलाल पुँजीवादको खरानीमा वैज्ञानिक समाजवाद–साम्यवाद विजयी र विकसित अवश्यम्भाबी हुनेछ ।

प्रतिकृया दिनुहोस्