विगतमा सिटामोलको चक्की नपाउने कर्णाली अव विशेषज्ञ डाक्टरसहितको जनशक्ति उत्पादन गर्ने

कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान जुम्लामा चिकित्सा शिक्षाको स्नातक तह एमबीबीएस (MBBS)को कक्षा सुरु भएको छ ।

चिकित्सा शिक्षा आयोगको गएको जेठ २९ गते सम्पन्न बैठकले प्रतिष्ठानलाई एमबीबीएस तहमा २० सिट अध्यापन गराउने स्वीकृति दिने निर्णय गरे अनुरुप पढाइ शुरु गरिएको हो।

सरकारले कर्णालीका दुर्गम क्षेत्रमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले २०६८ सालमा जुम्ला सदरमुकाममा रहेकाे खलङ्गामा प्रतिष्ठानको स्थापना गरेको थियो ।

आयोगले पहिलो पटक लिएको एकीकृत प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीमध्ये प्रतिष्ठानका लागि निर्धारण गरिएका सिट मध्ये हिजो १५ जना भर्ना भएका छन् ।

प्रतिष्ठानमा पहिलो पटक यसै शैक्षिक सत्रदेखि चिकित्सा शिक्षाको स्नातकोत्तर तह (एमडी) को अध्यापन सुरुआत भइसकेको छ ।प्रतिष्ठानमा यस वर्षदेखि स्नातक तहमा फार्मेसी (बी फार्मेसी) र नर्सिङको अध्यापन पनि सुरु गरेको छ । ती दुवै विषयमा २०/२० विद्यार्थी अध्ययन गर्नेछन् । यसअघि नै प्रतिष्ठानमा बीएनएस मिडवाइफ्री र बीपीएच पनि अध्यापन सुरु भइसकेको छ ।

प्रतिष्ठानले आयोगले लिएको एकीकृत प्रवेश परीक्षामा उत्तीर्णमध्ये १५ पूर्ण छात्रवृत्ति र पाँच शुल्क तिरेर अध्ययन गर्ने जनाएको छ । प्रतिष्ठानले चिकित्सा विषयको उच्च तह अध्यापनका लागि ३ सय शय्याको अस्पताल समेत सञ्चालनमा ल्याइसकेको छ ।

प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत अमृत भण्डारी प्रतिष्ठानमा चिकित्सा शास्त्रका थप नयाँ कार्यक्रम सञ्चालनका तयारी भइरहेको जानकारी दिँदै एमबीबीएस र एमडी कार्यक्रमले चिकित्सा शिक्षामा नयाँ ढोका खुलेको बताउनुभयो ।

MBBS को कक्षा सुरु भएसँगै दुर्गम क्षेत्रमा स्वास्थ्य शिक्षा र सेवाले कोल्टे फेर्ने भएको छ । विगतमा सिटामोलको चक्की नपाउने कर्णाली अवभने विशेषज्ञ डाक्टरसहितको जनशक्ति उत्पादन गर्ने थलोमा रुपान्तरण निश्चित छ।

प्रतिकृया दिनुहोस्