काठमाडौँ — १२ वर्षमाथिको झन्डै तीन चौथाइ जनसंख्याले कोभिडविरुद्धको खोप लगाएका छन् । बिहीबारसम्म ७२ प्रतिशतले पूर्ण र ९१ प्रतिशतले कम्तीमा एक मात्रा खोप लगाएका छन् । हालसम्म कुल ३ करोड ५९ लाख ५४ हजार २ सय ९२ मात्रा खोप लगाइएको छ ‘खोप कार्यक्रमलाई तीव्रता दिइरहेका छौं,’ स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले भने, ‘हाम्रो लक्ष्य चैत ३० सम्म १८ वर्षमाथिका सबैलाई पूर्ण खोप लगाउनु हो ।’ १८ वर्षमाथिका ९२ प्रतिशतले एक मात्रा र ७७ प्रतिशतले पूर्ण खोप लगाएका छन् । त्यस्तै कुल जनसंख्याको ७२.९ प्रतिशत अर्थात् २ करोड १२ लाख ७७ हजार ५ सय ५४ जनाले एक मात्रा र ५७.६ प्रतिशत अर्थात् १ करोड ६८ लाख २६ हजार ८ सय ५१ जनाले पूर्ण खोप लगाएका छन् । ८ लाख १४ हजार ५ सय ७९ मात्रा बुस्टर डोज लगाइसकिएको छ ।
मुलुकमा १२ देखि १७ वर्ष उमेर समूहका करिब ३४ लाख जनसंख्या रहेकामा ८७ प्रतिशतले पहिलो मात्रा र ४३ प्रतिशतले पूर्ण मात्रा खोप लिइसकेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । खोप अभियानमा गण्डकी प्रदेश अगाडि छ । त्यहाँ १८ वर्षमाथिको शतप्रतिशत जनसंख्याले पूर्ण मात्रा खोप लगाएका छन् । यस्तै वाग्मतीमा ९६ प्रतिशत, लुम्बिनीमा ७९, प्रदेश १ मा ७२, सुदूरपश्चिममा ६७, कर्णालीमा ६१ र मधेस प्रदेशमा ६१ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । १२ वर्षमाथिको जनसंख्यामा पनि पूर्ण मात्रा खोप लगाउने सबैभन्दा बढी गण्डकीमा छन् भने सबैभन्दा कम मधेस प्रदेशमा छन् । १२ वर्षमाथिका पूर्ण मात्रा खोप लगाउनेमा गण्डकीमा ९३, वाग्मतीमा ८५, लुम्बिनीमा ७५, प्रदेश १ मा ६६, सुदूरपश्चिममा ६५, कर्णालीमा ६२ र मधेसमा ५८ प्रतिशत छन् ।