जिखबर — पद दुरुपयोग गर्दै मालपोतका कर्मचारीले २४ वर्षअघि आफ्नो नाममा गराएको चौरजहारी अस्पतालको जग्गा अझै फिर्ता भएको छैन । किनबेच भएर व्यक्तिका नाममा पुगेको चौरजहारी नगरपालिका–१ स्थित चौरजहारी अस्पतालको ७० वर्गमिटर जग्गा अस्पतालकै स्वामित्वमा फिर्ता ल्याउन अदालतले आदेश दिए पनि कार्यान्वयन हुन नसकेको हो
अस्पतालले भोगचलन गर्दै आएको उक्त जग्गामा व्यक्तिले दाबी गर्दै संरचना बनाउन थालेपछि अस्पतालले खोजबिन थालेको थियो । स्थानीय खिमबहादुर गिरीले अस्पतालको तारबारभित्रको जग्गामै घर बनाउन जग खन्न थालेपछि मात्रै अस्पतालले आफ्नो जग्गा किनबेच भएको पत्तो पाएको हो । २०५१ मंसिर २३ मा स्थानीय कमारा बनगोसाईलाई २ हजार रुपैयाँ थैली भरेर अस्पतालले जग्गा किनेको थियो । जसमध्ये कित्ता नम्बर २६० को जग्गा अस्पतालका नाममा गराउन छुटेको थियो । यही मौकामा तत्कालीन मालपोत कार्यालयमा कार्यरत कालीबहादुर गिरीले २०५४ असोज ३१ मा उक्त कित्ता आफ्नो नाममा गरेको खुलेको हो ।
कालीबहादुरले उक्त कित्ता २०७१ भदौ २६ मा खिमबहादुरलाई बेचेका थिए । कालीबहादुरको मृत्यु भइसकेको छ । जग्गा आफ्नो भएको भन्दै खिमबहादुरले घर बनाउन थालेपछि अस्पतालले कानुनी प्रक्रिया सुरु गरेको थियो । अस्पतालले ‘आफ्नो नाममा जग्गा गराई पाऊँ’ भन्दै २०७५ कात्तिक ११ मा रुकुम जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो । २०७६ माघ १३ मा मुद्दामाथि सुनुवाइ गर्दै अदालतले उक्त जग्गा अस्पतालकै भएको फैसला गरेको थियो । जग्गा अस्पतालका नाममा कायम गरिदिन पनि अदालतले मालपोत कार्यालयलाई कार्यादेश दिएको थियो । तर विपक्षीले जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत सुर्खेतमा पुनरावेदन दियो । उच्च अदालतले पनि गत भदौ २७ मा जिल्लाकै फैसलालाई सदर गरिसकेको छ । तर, उक्त जग्गा अझैसम्म अस्पतालको हुन सकेको छैन ।आफ्नै जग्गा प्राप्त गर्न पनि अनेक दुःख झेल्नु परिरहेको छ,’ अस्पतालका प्रशासक डिलबहादुर गिरीले भने, ‘उपचार र अरू परामर्श सेवा दिनुपर्ने ठाउँमा उल्टै मुद्दा मामिलामा फस्नुपरेको छ ।’ उनका अनुसार पटकपटक मालपोत अधिकृत, प्रमुख जिल्ला अधिकारीलगायतसँग छलफल गर्दा पनि निकास निस्किएको छैन । अहिले उक्त जग्गा एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले रोक्का गरेको छ । खिमबहादुरलाई ऋण दिएको लघुवित्तले अस्पतालको जग्गा रोक्का गरेको हो । मालपोत कार्यालयका निमित्त प्रमुख ओमबहादुर खत्रीले जग्गा रोक्का भएका कारण अस्पतालका नाममा गराउन समस्या भएको बताए ।