भारतद्वारा बारेकोट गाउँपालिकालाई एम्बुलेन्स उपहार प्रदान

भारत सरकारले अनुदान सहायता स्वरुप बारेकोट गाउँपालिकालाई  एक एम्बुलेन्स उपहार प्रदान गरेको  छ । नेपाल भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत बारेकोट गाउँपालिकालाई  एम्बुलेन्स उपहार प्रदान गरेको हो ।

यसका लागि निरन्तर पहलमा रहेका बारेकोट गाउँपालिकाका निवर्तमान अध्यक्ष महेन्द्र शाहले एम्बुलेन्स बुझेका छन् । निवर्तमान अध्यक्ष शाह लामो समय काठमाडौं बसेर एम्बुलेन्स बुझेर बारेकोट पुगेर गाउँपालिकालाई हस्तान्तरण गर्ने भएका हुन्  ।

भारत सरकारले अनुदान सहायता स्वरुप नेपाललाई ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार दिएको छ। आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा नेपालस्थित भारतीय राजदूतावासले विभिन्न संघसंस्थाहरुमा ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार दिएको हो।नेपालका विभिन्न जिल्लामा अवस्थित विशेष गरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामुलक संस्थाहरुलाई एम्बुलेन्स र बस उपलब्ध गराएको दूतावासले जनाएको छ।एम्बुलेन्स र बस प्रदान गरिएको कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव सहभागी थिए। श्रीवास्तवले सम्बन्धित विभिन्न बस र एम्बुलेन्स प्रदान गरिएका संस्थालाई चाबी प्रदान गरे। यो सहयोग भारत स्वतन्त्र भएको ७५ औं वर्षगाँठको अवसरमा प्रदान गरिएको हो। कार्यक्रममा मन्त्री पौडेल र नेपालका लागि भारतीय रादजूत श्रीवास्तवले नेपाल र भारतको सम्बन्ध बलियो र सहयोगीपूर्ण हुने उल्लेख गरे।

भारतले सन् १९९४ यता नेपालका विविध जिल्लामा अवस्थित विभिन्न संस्थाहरूलाई ९४० वटा एम्बुलेन्स र १८४ वटा विद्यालय बस उपहारस्वरुप प्रदान गरिसकेको छ।

प्रतिकृया दिनुहोस्