एमाले जाजरकोटबाट संघमा आचार्य र प्रदेश क मा सिंह सिफारिस

आगामी मंसिर ४ गते हुने संघिय साँसदका लागि जाजरकोटबाट नेकपा एमालेले युवा नेता निरज आचार्यलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । एउटा निर्वाचन क्षेत्र रहेको जाजरकोटमा युवा नेता आचार्यलाई सिफारिस गरिएको हो ।

एमालेका केन्द्रिय सदस्य रहेका आचार्य गत २०७४ सालमा भएको निर्वाचनमा गठबन्धनका तर्फबाट प्रदेश सभा जाजरकोट क बाट टिकट पाएपनि माओवादी केन्द्रले आफ्नो दावी नछोडेपछि उनको टिकट खोसेर माओवादी केन्द्रका गणेश प्रसाद सिंहलाई दिएको थियो । एमाले पार्टी विभाजन पुर्व उनी माधव नेपाल र झलनाथ खनाल निकट मानिन्थे। विद्यार्थी हुँदै एमाले निकट अनेरास्ववियुबाट राजनितिमा होमिएका आचार्य युवा संघको महासचिव हुँदै पार्टीको केन्द्रिय सदस्य भएका हुन् ।

कर्णाली प्रदेश सभा सदस्यका लागि भने नेकपा एमाले जाजरकोटले डम्बरबहादुर सिंहलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । जाजरकोट क्षेत्र नम्बर १ (क) बाट सिहंलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो ।
शिक्षण पेशा छाडेर नेकपा एमालेको राजनीतिमा सक्रिय सिंहले २०७० सालको निर्वाचन नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेत सँग झण्डै पाँच सय मतको अन्तरले पराजित भएका थिए । उनी पार्टीको जिल्ला अध्यक्ष हुँदै अहिले केन्द्रिय सदस्य छन् । प्रदेश ख तर्फ भने कुरा मिल्न सकेको छैन । पुर्व पार्टी अध्यक्ष तथा हालका प्रदेश सभा सदस्य करवीर शाही पुनः दोहरिन चाहेका छन् भने हालका पार्टी अध्यक्ष खिमबहादुर शाहीले आफुले टिकट पाउनु पर्ने दावी गरेका छन् । सर्वसम्मत उम्मेदवार बनाउने प्रयास जारी भएपनि कुरा मिल्न सकेको छैन । कुरा मिल्न नसके दुवै जनाको नाम प्रदेश कमिटी हुँदै केन्द्रिय कमिटीमा पठाउने तयारी भएको एमालेका जिल्ला कमिटी सचिव वीरबहादुर गिरीले बताए । ‘करवीर कामरेडले अवसर पाई सकेकाले यस पटक खिम कामरेडलाई अवसर दिनु पर्ने धेरै कार्यकर्ताको मनोभावना देखिन्छ । सहमतिमै सवै कुरा टुङ्गिन्छ’ सचिव गिरीले भने ।

सचिव गिरीका अनुसार संघिय साँसदमा समानुपातिक तर्फ गोविन्द विक्रम शाह र कृष्ण बहादुर शाहीलाई सिफारिस गरिएको छ । प्रदेश क मा नवेन्द्र नेपाली, कालु हमाल, लक्ष्मी नेपाली, तारा शाक्य र हरिबहादुर घर्तीको नाम सिफारिस गर्ने निर्णय गरिएको छ । प्रदेश ख मा कुमारी थापा, जीतबहादुर थापा, करवीर चदारा र सरिता वलीको नाम सिफारिस गरिएको छ । स्थानिय चुनाव लडेर पराजित भएका र अवसर पाईसकेका लाई यस पटक सिफारिस नगरिएको सचिव गिरीले बताए ।

प्रतिकृया दिनुहोस्