जाजरकोट । स्थानीय सरकारको सबैभन्दा तल्लो र सबैभन्दा बढी जनताको सम्पर्कमा रहने जिम्मेवार इकाई हो वडा कार्यालय । सबै भन्दा नजिकको सरकारका रुपमा रहेको वडा सरकार जनताको सुख, दुःखको साथी पनि हो ।
बारेकोट गाउँपालिका–३ का वडा अध्यक्ष राम बहादुर सिंह भन्छन, ‘निर्वाचित भए लगत्तै मतदाता भेटघाट तथा धन्यवाद दिन टोल–टोलमा जाँदा नागरिकका धेरै जसो समस्या देखियो । समस्याको समाधानको लागि वडा सदस्यहरु सहितको टोली घर–घरमा पुगेर जनताका समस्याहरु बुझ्ने प्रयास गरिरहेका छौँ ।अहिले बर्खाको समय छ । घरघरमा रुघाखोकी र ज्वरोका बिरामीहरु छन् । स्वास्थ्य संस्था पुग्न बिरामीलाई मुस्किल छ । बाटोघाटो अप्ठ्यारो छ । बुढाबुढि र बालबालिकालाइ झनै समस्या भएकोले औसधि र स्वास्थ्यकर्मी लिएर जनताकै घरदैलोमा सेवा प्रवाह गरिरहेका छौ ।
वडा अध्यक्षको जिम्मेवारी सम्हालेपछि सिंह जनताकै घर आगनमा पुग्दै आएका छन् । अहिले उनको दैनिकी नै जनताको घर आँगनमा पुगेर जनाताको समस्या पहिचान गर्ने र त्यसको समाधानको प्रयास गर्ने रहेको छ ।
नेकपा एमालेबाट गएको वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाअध्यक्षमा निर्वाचित भएका सिंह आफ्नो साथमा स्वास्थ्यकर्मी लिएर जनताकै घरदैलोमा सेवा प्रवाह गरिरहेका छन् ।
नागरिकहरुले सामान्य उपचार नपाएर ज्यान गुमाउनु नपरोस् भनेर अध्यक्ष सिंह स्वास्थ्यकर्मी लिएर नागरिकको घरदैलोमा पुग्ने गरेका छन् ।